बा' म अहिले बिहे गर्दिन

Published on

-सुरेश 'बादल'

कहिले

कसको कुरा ल्याउनुहुन्छ

कहिले कसको कुरा ल्याउनुहुन्छ

कहिले नर्सको कुरा ल्याउनुहुन्छ

कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ

बा' जहिल्यै कर गरिरहनुहुन्छ

मलाई बिहे गर भनिरहनुहुन्छ

मलाई भने

उमेर पुगेजस्तो नि लाग्दैन

आफ्नै खुट्टामा

उभिएजस्तो नि लाग्दैन

त्यसैले बा'

म अहिल्यै झमेलामा पर्दिन

म अहिले नै बिहे गर्दिन!



हिजो

जागीर खाने केटि देखाउनुभयो

उसकै अफिस छेउमा

पठाएर भेटाउनुभयो

अहँ म कसैको मनमा चोट लाउँदिन

त्यो केटिलाई पनि म खोट लाउँदिन

खोट त मैसँग छ बा'

म त उसले जति अहिले

कमाउन पनि सक्दिनँ

उसको कमाईमा सायद

रमाउन पनि सक्दिनँ!

त्यसैले बा'

म पैसा भनेर भूतुक्कै मर्दिन

म अहिले नै बिहे गर्दिन!



आज तपाईँको कमाईले

म पालिन त गाह्रो छ

अरुलाई कसरी पालुँला

आफ्नै जिन्दगी आज अलपत्र छ

अरूलाई कसरी सम्हालुँला

बरू घाम एक्लै सहुँला

पानीमा एक्लै भिजुँला

संघर्ष एक्लै गरूँला

अनि त एकदिन

आफ्नै खुट्टामा कसो नउभिउँला!



त्यसपछि

भनेजस्तो केटि देखाउनुहोला

आफ्नो लागी नयाँ

दौरा सुरूवाल छेकाउनुहोला

लगन जुराउनुहोला

बाजा घन्काउनुहोला

के थाहा तपाईँको भाग्य न हो

ठ्याक्कै अर्को साल

नाती खेलाउनुहोला

अहिले नै अगाडि सर्दै सर्दिन

बा' अहिले चैँ बिहे गर्दै गर्दिन!

To be informed of the latest articles, subscribe:
Comment on this post