हराएको गाउँ! - कविता ----------------- सुरेश 'बादल'

Published on

-

खेतहरू, टारबारीहरू, खोरियाहरू सबै उहिँ छन्
गोरेटाहरू, चौतारीहरू सबै उस्तै छन्
तर पनि आजभोली गाउँ हराएको छ।

शहरबाट गाउँलाई लिन भनेर
गाउँको फेदसम्म बाटो पुगेपछि
गाउँ शहरमात्र हैन परदेश पुगेको छ
र अलिकति गाउँ शहर बसेको छ
अनि हराएको छ गाउँ।

सानो प्लास्टिकको झोलामा पोको पारेको गुन्द्रुक
हर्लिक्सको सिसिमा भरेको घिउ
अनि रूमालमा पोको पारेको सेलरोटि
सबै बोकेर कतार पुगेको एउटा सानो गाउँ
चकलेट, किसमिस र खजुर बोकेर फर्केपछि
अलिकति गाउँ त्यहिँ हराएको हो!
किनभने
बुढा बा' र बिरामी आमाहरूले
मुस्कानजति सप्पै निखारेर छोरो पठाएपछि
रित्तिएको थियो ओठ
र रित्तिएको हो गोठ
यसरी हराएको हो यहाँ अलिकति गाउँ!

हजुरबा'ले साँझपख
फलैँचामा बसेर सुसेल्नु हुन्थ्यो महाभारतका श्लोक
सुनिरहन्थे गोठबाट गाइबस्तु
सुन्दै सुन्दै पर डाँडामा पुगेर मुसुक्क हाँस्थ्यो जून
र सुन्थे गुँडमा बसेका चराहरू
हजुरबा'सँगै हराए ती जम्मै श्लोकका लयहरू
र हरायो यहाँ पनि अलिकति गाउँ!

गोठालाहरू हराएपछि गाइवस्तु हराएका छन्
खेतालाहरू हराएपछि खेतिपाती हराएका छन्
मारूनीहरू हराएपछि रत्यौली हराएको छ
धोती, कछाड, मझेत्रो सप्पै हराएका छन्
ढिकि हराएको छ, जाँतो हराएको छ
यहाँ पनि अलिकति गाउँ हराएको छ।

गाउँ हराउनु भनेको संवेदना हराउनु हो
आफ्नोपन हराउनु हो, आत्मियता हराउनु हो
बुढा बा' र आमाहरूमात्र बाँकि रहेको गाउँबाट
कुनै दिन सुनसान आँगनमा बा'को लाश पर्दा
पिंढिमा आमाका आँशुहरू नहराउन्
लाशलाई उठाउने काँधहरू नहराउन्, मलामीहरू नहराउन्!

To be informed of the latest articles, subscribe:
Comment on this post