सुरेश बादल

Published on

मैले शहर छोडेको दिन- कविता
------------------------

केहि चुरोटहरू कम जल्लान् पहिलेभन्दा
केहि धुवाँ कम होला यहाँको आकाशमा
कुनै रूटको कुनै एउटा पुरानो माइक्रोबसको
कुनै एउटा लुगा च्यात्ने साँघुरो सीट खाली होला
या कुनै चियापसलको काठको टुल रित्तो होला
खै के-के होला
मैले शहर छोडेको दिन!

केहि जोर आँखाहरूले कुर्दैनन् होला
पुरानो बसपार्कको गेटमा उभिएर
केहि पानीपुरिहरू कम बिक्लान् न्युरोडका सडकछेउमा
कसैको एउटा हात हावासँग हात मिलाउँदै एक्लै हिँडिरहला असनको गल्लिमा
केहि ठाउँहरू खाली रहलान् बसन्तपुरका मन्दिर पेटिहरूमा
खै के-के होला
मैले शहर छोडेको दिन!

आखिर केहि नहुन पनि त सक्ला नि
मैले शहर छोडेको दिन

बसपार्कको पुलमा उभिएर
पर-परका गाडिहरू अरू कसैले पनि गनिदेला
रत्नपार्क बाहिर उभिएर आउनेजानेहरूले सोध्दा
बीर अस्पताल उता छ भनेर
अरू कसैले पनि त भनिदेला
आकाशको जुनसँग साँझमा आँखा जुधाउनेहरू
अरू पनि त होलान् नि
फ्रुटिका रित्ता प्याकेटहरू कुल्चिएर फुटाउनेहरू अरू पनि त होलान्

किन केहि पनि फरक नपर्ला र!
मैले शहर छोडेको दिन?

म फर्किन्नँ कि भनेर
पसलेहरूले उधारो खाता पल्टाउँदै-पल्टाउँदै
मलाई रातभर याद गर्न सक्छन्!
भाडा तिर्न आउला कि नआउला भनेर घरबेटिले
मलाई रातभर फोन गर्न सक्छन्
सापटि तिर्ला कि नतिर्ला भनेर मेरा यारहरूले
मेरो हालखबर सोध्न सक्छन्
म फर्किन्नँ कि भनेर मेरी प्रेयसीले
मेरा लागी आँशुले तकियाहरू भिजाउन सक्छिन्!

त्यसैले मलाई
यो शहर छाड्नै मन लाग्दैन!
माइक्रोको सीटले उधारेको सर्टजस्तै उध्रिए पनि जिन्दगी
मन्दिरपेटिमा अडेस लाग्दा पाइन्टमा टाँसिएको चुईँगमजस्तै गरि
टाँसिएरै बस्न मन छ यो शहरमा।

To be informed of the latest articles, subscribe:
Comment on this post
R
aaha tapai ko harek lekh dami chha I really like
Reply